चितवन । विश्वमा सबै किसिमका मुटुरोगी मध्ये आधा मुटुरोगीले धुम्रपान गरेको पाईएको छ । मुटुरोगी मध्ये ८५ प्रतिशतको मृत्यु ह्दयघातबाट हुने गरेको छ । आज विश्व मुटु दिवसको अवसर पारेर एक कार्यक्रममा चिकित्सकले उक्त तथ्यांक भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन मुटु अस्पतालका अध्यक्ष चिकित्सक विशेषज्ञ शंकर लौडारीले सबै प्रकृतिका रोग मध्ये एक तिहाईको मृत्यु मुटरोगबाटनै हुने गरेको बताए । ‘मुटुरोग अवस्था थप जटिल बन्दै गईरहेको छ उनले भने, ३० बर्षको तथ्यांक हेर्नेहो भने मटुरोगीको यो अवधिमा दोब्बर भएको छ ।’ उनका अनुसार धुम्रपान गर्दा चुरोटको धुंँवा फोक्सो हुंँदै रगतमा मिसिएर मुटुको रक्तनलीमा रगतको प्रवाहलाई रोक्ने गर्दछ । चुरोटको धुवाँ मुटुको रक्त नलीमा इन्डोफेलियर लेयरमा जम्मा भई मुटुरोगीको मृत्यु हुने गरेको उनको भनाई छ ।
दोस्रो मृत्यु हुने कारणमा मुटु सुनिने, मुटुले रगत पम्प राम्रो गर्न नसक्ने गरेका कारण मृत्यु हुने गरेको उनले जानकारी दिए । मुटुरोगी मध्ये महिला भन्दा बढी पुरुषलाई मुटुरोग लाग्ने गरेको छ । ‘महिलाको महिनाबारी बन्द हुनुभन्दा अघि मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।उनले भने, तर पुरुषको किशोर अवस्थाबाट नै रोगले आक्रमण गर्न सक्छ ।’ जसका कारण मानिसको १० बर्ष उमेरदेखिनै खानपान र चेकजांँच नियमित हुनुपर्ने उनले बताए ।
पछिल्लो समय युवापुस्ता अन्य उमेरसमुहले धुम्रपान बढी गर्ने कारण यसको प्रतिशत पनि बढ्दै गएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउँछन् । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको हो ।
सो अवसरमा बोल्दै अर्का विशेषज्ञ डाक्टर मणीराज गौतमले अन्य रोगको तुलनामा मुटुरोगीको बांँच्ने सम्भावना कम भएकोले यसको मृत्युदर बढ्ने गरेको बताउंँछन । ‘मुटुरोगी मध्ये ५० प्रतिशतले मात्र आफूलाई रोग भएको थाहा हुन्छ । ती मध्ये विकसित देशमा पनि ४० प्रतिशतले मात्र रोगको उपचार गराउंँछन ।’ डा गौतमले भने । धुम्रपान सेवन गर्ने मध्ये ५० प्रतिशतमा मुटुको रोग लाग्ने तथ्यांक भएको उनले बताए । यी मध्ये नेपालमा पुरुषले बढी धुम्रपान गर्ने गरेको देखिएपनि यहांँको भौगोलिक अवस्था अनुसार कतै पुरुष बढी र विकसित राष्ट्रहरुमा पनि सोही अनुसार धुम्रपान गर्ने संख्याको आधारमा मुटुरोगी थपिने उनको भनाई छ ।
मुटुको उपचार खर्चिलो, र सबैको पहुँचमा नपुग्ने भएका कारण पनि यसबाट मर्नेको संख्या बढ्दै गएको उनले बताए । यसको न्यूनिकरणका लागि खानपान, र शारिरीक व्यायाम र सचेतना हुनु जरुरी रहने उनको भनाई छ ।
अर्का मुटुरोग बिशेषज्ञ श्याम रेग्मीले यसको न्यूनिकरणको लागि सचेतनाका साथै प्रविधि र चिकित्सकको उत्पादन गर्नुपर्ने धारण राख्छन । ‘अहिले उपत्यका बाहिर पनि विशेषज्ञ चिकित्सकको राम्रै उपस्थिति छ , उनले भने, हामीले अहिले चिकित्सक उत्पादन गर्ने र रोग न्यूनिकरण गर्ने दुबै चुनौति छ ।’