काठमाडाैं । आइपिएल इतिहासमा कप्तानको रूपमा खेलेको पहिलो खेलमै शतक प्रहार गर्ने खेलाडीको रूपमा सञ्जु सामसुनले कीर्तिमान कायम गरे । राजस्थान रोयल्सका यी कप्तानले पन्जाब किङ्सविरुद्धको खेलमा ६३ बलको सामना गर्दै ११९ रन प्रहार गरेका थिए । सिजनको सुरुवातमै प्रहार गरिएको त्यो शतकका बाबजुद राजस्थान पराजित भएको थियो । सोही खेलमा पन्जाबले छाडेको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले २१७ रन जोडेको थियो ।
यस सत्रको आइपिएलमा चर्चा गर्नलायक थुप्रै विषय हुन सक्छन् । यसमा सामसनको शतक भने स्मरणीय रहने छ । दिल्लीका मध्यक्रमका ब्याट्सम्यान सिमोन हटमायरका केही विस्फोटक पारी र हैदरावाद कप्तान डेभिड वार्नरको खराब फर्म यी सबै यसपटकका आइपिएलका चर्चायोग्य विषय बने ।
भारतमा कोभिड-१९ महामारीको दोस्रो लहर चलिरहँदा जारी आइपिएलमा सञ्जु सामसनले कीर्तिमान कायम गरेका थिए । कोभिड पिकमा पुगेर धेरै खेलाडी सङ्क्रमित भएपछि स्थगित आइपिएल स्थगित अहिले युएईमा सञ्चालन भइरहेको छ ।
आइपिएलको १४औ संस्करणका धेरै रोमाञ्च अझ बाँकी नै छ । शृंखलाको समाप्तिसम्ममा उल्लेख गरिएभन्दा अन्य धेरै यादगार प्रदर्शन हुन पनि सक्ने छन् । तर अहिलेको प्रसंग, ती खेलाडीको जो पहिलो पटक भारतको राष्ट्रिय टोलीको ढोका ढकढक्याउन सफल भएका छन् ।
यस आइपिएलमा सबैभन्दा सनसनीपूर्ण प्रदर्शन गर्ने खेलाडी रोयल च्यालेन्जर बैंगलोरका बलर हर्सल पटेल रहे । उनले १० खेलमा २३ विकेट लिइसकेका छन् । उनको टोली प्लेअफ पनि खेल्ने सम्भावना प्रबल रहेको छ । यसकारण पटेल यस पटकको आइपिएलमा सबैभन्दा धेरै विकेट लिने बलरको रूपमा रहेन लगभग निश्चित छ ।
उनलाई पछ्याएर दोस्रो स्थानमा रहेका दिल्ली क्यापिटलका अभेस खानले १८, मुम्बई इन्डियन्सका जसप्रीत बुमराहले १५, राजस्थानका क्रिस मोरिसले १४ तथा सनराइजर्स हैदरावादका रसिद खानले १३ विकेट लिइसकेका छन् । यसभन्दा अघिका सिजनमा बैंगलोर डेथ ओभरमा कमजोर बलिङ गरेकै करण असफल हुँदै आएको थियो ।
यस सिजनमा छाइरहेका हर्सल पटेल उमेरले भने ३१ वर्ष भइसकेका छन् । १९९० मा जन्मिएका पटेलको परिवारको अमेरिका बसोबास गर्ने योजना थियो । हर्सलका दाजु तपन पटेलले भाइको क्रिकेट क्रेज र स्तर देखेर भारतमै बस्ने ठहर गरेका हुन् । २०१० मा न्युजिल्यान्डमा भएको यु–१९ विश्वकपको टोलीमा समावेश उनी सोही वर्ष आइपिएलमा समेत आबद्ध भएका थिए । सो समयमा उनी मुम्बई इन्डियन्समा आबद्ध भएका हुन् ।
सन् २०१२ मा पटेल रोयल च्यालेन्जर बैंगलोरमा आबद्ध भए । २०१८ मा उनी दिल्ली क्यापिटलमा आबद्ध भए । २०२१ मा पटेल रोयल च्यालेन्जर बैंगलोर पुगेका हुन् । बैंगलोरका लागि खेलेका पहिलो खेलमै २०२१ मा उनले मुम्बई इन्डियन्सविरुद्ध ह्याट्रिक गरेका थिए । आइपिएलमा मुम्बई इन्डियन्सविरुद्ध ह्याट्रिक गर्ने उनी पहिलो बलर हुन् । साथै भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाइनसकेका खेलाडीले पहिलो पटक पाँच विकेट लिएका हुन् ।
यसै वर्ष उनको एउटा ओभर भने यस सिजनको सबैभन्दा महँगो तथा आइपिएल इतिहासकै संयुक्त महँगो ओभर भएको थियो । चेन्नाईसँगको खेलको २०औ ओभरमा उनले ३७ रन खर्चेका थिए ।
यसै सिजनमा आश्चर्यजनक रूपमा छाएका अर्का खेलाडी कलकत्ता नाइटराइडर्सका प्रारम्भिक ब्याट्सम्यान बैंकटेस ऐयार रहे । भारतमा भएको पहिलो लेगका सात खेलमा दुई जित हात पारेको कलकत्ता सातौँ स्थानमा रहेको थियो । युएईमा खेलेका चार खेलमा तीन जित हात पारेको कलकत्ताले चेन्नाई सुपर किङ्ससँग प्रतिस्पर्धात्मक हार बेहोरेको थियो ।
बैंगलोरसँगको खेलबाट आइपिएलमा डेब्यु गरेका उनले मुम्बईसँगको खेलमा अर्धशतक प्रहार गरे । चौथो खेलसम्म आइपुग्दा त उनी बल र ब्याट दुवैमा जम्न थाले । दिल्ली क्यापिटलसँगको खेलमा १५ बलमा १४ रन मात्र प्रहार गरे । तर, त्यसै खेलमा उनले चार ओभर बलिङ गरेर २९ रन खर्चेर दुई विकेट लिएका थिए ।
परिवारका कोही पनि खेलकुदमा सरिक नभएका ऐयारका परिवारका चिकित्सक, इन्जिनियर र शिक्षक थिए । उनका बाबुले समेत क्रिकेटर बन्ने कुरामा असहमति जनाएका थिए । नर्ससमेत रहेकी आमा उषा ऐयारले छोराको समर्पण देखेर महाराष्ट्रमा रहेको यसवन्त क्रिकेट क्लबमा छोरालाई लगेकी थिइन् । त्यहीँ दिनेश शर्मासँग उनले क्रिकेट सिकेका हुन् । त्यसपछि दिनेशले दुई वर्षमा छोराको खेलस्तर परिवर्तन गर्ने कुरा उनको आमालाई बताए ।
प्रशिक्षक दिनेशकै अनुसार बैकटेसले क्रिकेटका लागि कुनै पनि त्याग गर्न तयार रहेको बताउँदै आएका थिए । बैंकटेस सुरुवातमा मध्य क्रमका ब्याट्सम्यान थिए । तर उनको खेल स्टाइल हार्ड हिटरको झैँ थियो ।
आइपिएल बीचमा रोकिएर केही समयपछि सुरु हुँदा हरभजन सिंह र कलकत्ताका प्रशिक्षक ब्रेन्डम म्याककुलुमले ऐयारलाई ढाडस दिने गरेका थिए । हरभजनले विराट कोहलीसँग उनको भेट गराएका थिए । कोहलीसँगको भेटले ऐयार अझ धेरै सकारात्मक भएका थिए ।
यसैगरी, चेन्नाई सुपर किङ्सका रुतुराज गाइक्वाड यस सिजनका अर्का हेर्नलायक खेलाडी रहे । गत सिजन सुरुवाती खेलमा अवसर नपाएका गाइक्वाडले अन्तिमका खेलमा मात्र अवसर पाएका थिए । ती खेलहरूमा गरेको प्रदर्शनका कारण यस सिजनमा उनी लगातार टोलीमा छन् । यस सिजनको प्रदर्शनको कारण उनी भारतीय राष्ट्रिय टोलीको ढोका ढकढक्याउन पुगेका छन् ।
गत वर्षको अन्त्यमा गाइक्वाडका कारण चेन्नाईले केही खेलमा जित हात पारेको थियो । दुई खेलमा उनी म्यान अफ द म्याच पनि घोषित भए । तर, यसभन्दा अघिका लगातार पराजयको कारण महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको टोली प्लेअफमा प्रवेश गर्न असमर्थ भएको थियो ।
यसपटक उनी कप्तान धोनीको विश्वास जित्न सफल भएपछि चेन्नाईले अक्सनको समयमै उनलाई पूरै खेल खेलाउने योजना बनाइसकेको थियो । यसकारण सो टोलीले अक्सनमा पनि अन्य प्रारम्भिक ब्याट्सम्यानमा कुनै चासो देखाएन । गाइक्वाड अहिले भारतका आशालाग्दा खेलाडीको रूपमा स्थापित भइसकेका छन् । मुम्बई इन्डियन्ससँगको खेलमा संसारको सबैभन्दा उत्कृष्ट टी २० बलर जसप्रीत बुमराहको आमने सामने भए पनि उनले बुमराहकै बलमाथि लगातार रन बटुले । उनको खुबीले धेरैलाई आश्चर्य पारेको थियो ।
उनीभन्दा बढी रन प्रहार गर्ने खेलाडीमा शिखर धवन, सञ्जु सामसन, लोकेस राहुल र फाफ डु प्लेसिस छन् । त्यसो त यसअघिको सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाएका मायंक अग्रवालले पनि उनलाई पछ्याइरहेका छन् ।
यस सिजनको बलिङमा केही भारतीय युवा खेलाडीको प्रदर्शन पनि त्यत्तिकै स्तरीय छ । पन्जाबका लागि खेल्ने युवा खेलाडी आर्सदिप सिंहले आठ खेलमा १२ विकेट लिइसकेका छन् भने चेतन सकरीया पछिल्ला केही खेलमा प्रभावकारी देखिएका छन् ।
१७ अक्टोबर देखि १४ नोभेम्बरसम्म संयुक्त अरब इमिरेट्समा हुने प्रतियोगिताका लागि टोलीको छनोट भइसकेको छ । यसकारण यी खेलाडीले उत्कृष्ट प्रदर्शनका बाबजुद विश्वकप सहभागिताको अवसर पाउने छैनन् ।
यस विश्वकप गत वर्षको अक्टोबरमा भारतमा निर्धारित थियो । तर, आइसिसीले कोभिड-१९ महामारीका कारण प्रतियोगिता एक वर्ष पछाडि धकेलेको हो । २०२१ को जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले प्रतियोगिता भारतमा गर्नु जोखिमपूर्ण हुने ठहर गर्दै युएईमा गर्ने निर्णय गरेको हो ।
कोभिड महामारीका कारण एक वर्ष विश्वकप सर्नु केही खेलाडीका लागि भने स्वर्णिम अवसर त बन्न सक्थ्यो । परन्तु, आइपिएल जारी रहेकै समयमा राष्ट्रिय टोलीको घोषणा भएपछि यी खेलाडीले अर्को प्रतियोगितासम्म कुर्नुपर्ने भएको छ ।