टोक्यो । जापानले कोरोना भाइरस संकटकाल बिहीबारदेखि अन्त्य गर्ने भएको छ । जापान सरकारले कोरोना भाइरस संक्रमण दरमा कमी आएसँगै अर्थतन्त्रलाई पुनः बलियो बनाउन यसै सातादेखि आपतकालीन अवस्था अन्त्य गर्न लागेको हो ।
मंगलबार प्रधानमन्त्री योशिहिदे सुगाले बिहीबारदेखि संकटकाल अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले भाइरस रहेपनि दैनिक जनजीवनलाई पुनः सञ्चालन गर्न यस सम्बन्धी प्रतिबन्धहरू क्रमिक रूपमा खुला गर्दै जाने बताए । प्रधानमन्त्री सुगाले भविष्यमा आउनसक्ने लहरको तयारीका लागि अस्थायी कोभिड–१९ उपचार सुविधाहरू र खोप कार्यक्रमलाई निरन्तरता दिने पनि बताए ।
“कोरोना भाइरविरुद्धको हाम्रो लडाइँ अब नयाँ चरणमा प्रवेश गर्दैछ,” सुगाले भने, “अन्ततः हामीले देख्न सक्छौ कि सामाजिक र आर्थिक गतिविधिहरू सामान्य हुँदैछन् ।”
बितेको छ महिनामा पहिलोपटक जापान कोभिड संकटकाल मुक्त हुन लागको हो । अहिलेको संकटकाल गएको अप्रिलमा घोषणा गरिएको थियो र पटक पटक विस्तार गरिएको थियो, जुन नयाँ घोषणा अनुसार यही सेम्टेम्बरको अन्तिममा सकिँदैछ ।
जापानमा कोरोना भाइरसबाट हालसम्म झण्डै १७ लाख मानिसहरू संक्रमित भएका छन् भने साढे १७ हजारको मृत्यु भएको छ ।
मध्य अगस्टपछि दैनिक संक्रमित संख्या २५ हजार सम्म पुगेकोमा अहिले घटेर २ हजारसम्म झरेको छ ।
यद्यपि, अधिकारीहरूले कोरोना भाइरस संक्रमण फैलन नदिन संयमता अपनाउन र मदिराजन्य पदार्थ नबेच्न रेष्टुरेन्ट तथा बारहरूलाई आग्रह गरेका छन् । एपीबाट ।