काठमाडौं–बागमती प्रदेश साक्षर प्रदेश घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् ।
साक्षर बागमती प्रदेश घोषणा कार्यक्रममा बटुकहरुद्धारा स्वस्ती बाचन गर्दै साक्षर बागमती प्रदेश स्तम्भको अनावरण तथा मन्त्रालयको परिसरमा फलफूलका विरुवाहरु रोपी कार्यक्रमको समुद्घाटन भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा मुख्य मन्त्री शाक्यले नेपालमा पहिलो साक्षर प्रदेश घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै साक्षर प्रदेश घोषणा गर्ने कार्यमा सवै जिल्लाहरुलाई साक्षर बनाउन अनवरत रुपमा लाग्नुहुने सवै सवैलाई धन्यवाद दिएकी थिइन्।
उनले समयानुकुल परिवर्तन हुने साक्षरताका सूचकहरुलाई सम्वोधन हुने गरि नयाँ प्रविधिबाट शिक्षण सिकाई सहजिकरण गर्ने र सिकेका ज्ञानलाई व्यवहारमा उतार गर्न आवश्यक रहेको कुरा प्रकाश पार्दैै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासका लागि आवश्यक हुने साधन, श्रोत र जनशक्ति उपलब्ध गराउनका निमित्त सदा प्रयत्नशिल रहने कुरा व्यक्त गरिन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री विजय सुवेदीले २०७२ असार २ मा सिन्धुपाल्चोकबाट सुरु भएको साक्षर जिल्ला घोषणा कार्यक्रमले २०७८ असोज ४ गते काठमाण्डौ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिए संगै आज साक्षर बागमती प्रदेश घोषण अभियानेले मुर्त रुप लिएको बताए।
उनले बागमती प्रदेशमा १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९७.२२ प्रतिशत व्यक्ति साक्षर भै सकेकोमा अझै ४५ हजार ३४५ जना मानिस साक्षर हुन बाँकी रहेकोले यो घोषणा यस उमेर समूहका बाँकी मानिसहरु र अन्य उमेर समूहका सवै मानिसहरुलाई समेत समेटेर पुर्ण साक्षर बागमती प्रदेश निर्माणको अभियानको थालनी भएको कुरा व्यक्त गरे ।
उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेलले मन्तव्यको क्रममा बागमती प्रदेशवासीहरुका लागि आजको दिन खुशीको दिन भएको कुरा व्यक्त गर्दै शाक्षर प्रदेश घोषणा संगै आउने चुनौतिहरुको सामना गर्न सक्ने गरि मन्त्रालयले शैक्षिक योजना तयार गर्ने कुरा प्रकाश पारे ।
कार्यक्रममा स्वागत मन्तव्य तथा बागमती प्रदेशको साक्षरता प्रतिवेदन २०७८ प्रस्तुत गर्दै शिक्षा विकास निर्देशनालयका का.म् निर्देशक चन्द्रप्रसाद लुइटेलले बागमती प्रदेशको परिचय, साक्षर प्रदेशको उद्धेश्य, साक्षर कार्यक्रम संग सम्वन्धित नीति, सीप र प्रमाणीकरण,प्रदेश साक्षरता स्थिति, साक्षरता कार्यक्रमको रणनिति,अवको कार्यदिशा र चुनौतिका सम्वन्धमा प्रकाश पारेका थिए ।