चितवन। चितवन जिल्लामा गएको २ महिनाको अवधीमा १९ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलको तथ्याङ्कलाई आधार मानेर हेर्दा श्रावण महिनामा जवरजस्ती करणीको मुद्दा ७ वटा दर्ता भएकोमा भाद्र महिनामा थप १० वटा मुद्दा दर्ता भएको छ । यसरी हेर्दा चितवन जिल्लामा श्रावण महिनामा भन्दा भाद्रमा जवरजस्ती करणीको मुद्दामा वृद्धि भएको देखिन्छ।
जिल्लामा श्रावण महिनाको अपराध तथ्याङ्क हेर्दा जवरजस्ती करणी ७, बहुविवाह ५, बालयौनदुराचार ३, झुण्डी आत्महत्या ५, बिष सेवन गरी आत्महत्या ३ , भबितव्य ज्यान ३ र फुटकर ज्यानमा १ मुद्दा दर्ता रहेको छ । त्यस्तै भाद्र महिना देखि असोज ५ सम्ममा जवरजस्ती करणीमा मुद्दा संख्या बढेर १० पुगेको छ भने जवरजस्ती करणी उद्योगमा समेत २ मुद्दा दर्ता भएका छन् । त्यस्तै बहुविवाहमा १ मुद्दा दर्ता भएको छ, झुण्डी आत्महत्या गर्ने संख्या बढेर १३ वटा मुद्दा दर्ता भएका छन् । बिष सेवन गरी आत्महत्या गरेको मुद्दा भने सो अवधिमा १ वटा मात्र छ ।भबितव्य ज्यान र फुटकर ज्यान त्रमशः ३ र ५ रहेको छ ।
त्यस्तै श्रावण महिनामा जवरजस्ती करणी सम्बन्धी ७ मुद्दाका ७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ भने फरार संख्या १ रहेको छ ।भाद्र महिनामा जवरजस्ती करणी र उद्योग सम्बन्धी मुद्दा १२ वटा दर्ता भएकोमा यो समाचार तयार गर्दा सम्म प्रहरीले ११ जनालाई पक्राउ गरेको छ भने, ६ जना फरार रहेका छन् ।
आत्महत्या पनि बढ्यो
चितवन जिल्लामा २ महिनाको अवधीमा आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको छ । श्रावण महिनामा झुण्डी आत्महत्या ५, बिष सेवन गरी आत्महत्या ३ , भबितव्य ज्यान ३, फुटकर ज्यानमा १ मुद्दा दर्ता भएको थियो , भने श्रावण महिना भन्दा भाद्र महिनामा सो वृद्धि भएर झुण्डी आत्महत्या गर्नेको संख्या १३ पुगेको छ। त्यस्तै बिष सेवन गरी आत्महत्या १ , भबितव्य ज्यान ३ र फुटकर ज्यानको मुद्दामा समेत वृद्धि भएर ५ पुगेको छ।