चितवन। उद्यमशील महिला समूह रत्ननगरका महिला उद्यमीहरुले यो वर्ष पनि बेसार खेतीलाई निरन्तरता दिएका छन्। वडा नं. १० र १३ का अध्यक्षहरुले आयआर्जनका अवसरहरु विस्तार गर्न महिला उद्यमीहरुलाई बेसार खेतीका लागि आर्थिक सहयोग जुटाएको बताएका छन्।
वडा नं. १० का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक कलाधर पौडेल र वडा नं. १३ का अध्यक्ष पोटबहादुर घिमिरेले बेसार खेतीमार्फत महिलाहरुको आर्थिक सशक्तीकरणमा जोड दिएको बताए। “हामीले बेसार खेतीका लागि आर्थिक सहयोग मात्र होइन, आगामी दिनमा विभिन्न सीपमूलक तालिमहरु प्रदान गरी ती सीपलाई व्यवसायमा परिणत गर्ने पहल गर्नेछौं,” अध्यक्षद्वयले प्रतिबद्धता व्यक्त गरे।
उद्यमशील महिला समूह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले बेसार खेतीले महिलाहरुलाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बन्ने बाटो खोलेको बताइन्। “यो खेतीले हामीलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आत्मविश्वास पनि बढाएको छ,” उनले भनिन्।
स्थानीय सरकारको सहयोग र समूहको सक्रियताले रत्ननगरका महिलाहरु उद्यमशीलता र आत्मनिर्भरताको पथमा लम्केको सिंखडाको प्रतिक्रिया थियो ।