चितवन। भरतपुर महानगरपालिका–७ बंशीचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकवटामा आगलागी भएको छ । दुर्घटनामा दुबै चालक घाइते भएका छन् ।
आज बिहान करिब ८:४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना. ५३ प. ११७३ नम्बरको मोटरसाइकल र लु. २७ प. २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । आगलागीबाट ना ५३ प ११७३ नम्बरको मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
दुर्घटनामा परी २८ वर्षीय सविन कुमालको हात–खुट्टामा चोट लागेको छ भने ३५ वर्षीय रामकुमार महतोको दाहिने हात भाँचिएको छ । दुबै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।