चितवन । पूर्वी चितवनका पाँचवटा सामुदायिक वनमा जीप सफारी सुरु गरिएको छ । वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जीप सफारीको सुभारम्भ गर्नुभएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु गर्नुभएको हो ।
सो अबसरमा उहाँले वनको समुचित उपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो । वन,वन्यजन्तु र वनस्पतीलाई पर्यटनसंग जोडेर स्थानीय समुदायको जीवन स्तर उकास्ने गरी राष्ट्रिय वनहरुको उपयोग गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको भन्दै उहाँले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनुभयो ।
खोरसोर संरक्षित वनबाट सुरु भएको जीप सफारी टिकौली हुँदै विसहजारी ताल सम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अबलोकन गराइने छ । जसमा २० किलोमिटर दुरी जिप सफारी गर्न पाईने छ । सौराहाको नजिक रहेका सामुदायिक वनमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा नेपाल सरकार उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगरमा पहिलो पटक जिप सफारी सुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले चितवनमा नयाँ पर्यटकीय गन्तव्यको थालनी भएको बताउनुभयो ।
सो अबसरामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा.रामचन्द्र कँडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष बासु ढुंगाना, अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगाएतले पर्यटन प्रबर्धनका लागि सबै क्षेत्र एक हुन जरुरी रहेको बताउनुभयो ।
यस अघि मन्त्री ठकुरीले राप्ती नदीमा १५ वटा गोही छाड्नु भएको थियो । छोडीएका गोहीहरु पोथी रहेका छन् ।