काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ आयोजना गर्दैछ। ‘जनताले जितेको दिन’ को स्मरणमा आयोजना गरिएको यो विशेष कार्यक्रम विगतका कार्यक्रमभन्दा फरक र प्रेरणादायी हुने एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिनुभएकाे छ।
ढुंगेलका अनुसार यो कार्यक्रम केवल राजनीतिक प्रदर्शन नभई, युवालाई लोकतन्त्रप्रति सचेत र प्रेरित गराउने उद्देश्यले आयोजना गरिएको हो।
दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गर्नुहुनेछ। ढुंगेलका अनुसार यो कार्यक्रम केवल राजनीतिक प्रदर्शन नभई, युवालाई लोकतन्त्रप्रति सचेत र प्रेरित गराउने उद्देश्यले आयोजना गरिएको हो।
सांस्कृतिक झाँकीदेखि सेल्फी स्टलसम्म
कार्यक्रमस्थलमा कफी सप, फुड स्टल, सेल्फी स्टल, सांस्कृतिक झाँकी तथा युवाले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी पनि रहनेछ। युवा संघका अध्यक्ष क्षितिज थेवेका अनुसार, “जनताले जितेको ऐतिहासिक दिनलाई सेलिब्रेट गर्न हामीले एक लाख युवालाई स्वागत गर्नेछौं।”
एमालेले सहभागीता खुला राखेकोले, पार्टीमा आबद्ध नभएका युवाहरू पनि कार्यक्रममा भाग लिन सक्नेछन्।
देशभरका युवा काठमाडौंमा
देशभरबाट करिब एक लाख युवाको सहभागिता रहने एमालेको दाबी छ। पार्टीका अनुसार, नयाँ पुस्तामा लोकतान्त्रिक मूल्य र परिवर्तनको सन्देश पुर्याउने उद्देश्यले यो कार्यक्रम राष्ट्रव्यापी बनाइएको हो।
सवारी व्यवस्थापनको लागि मोटरसाइकल र स्कुटर बग्गीखाना नजिक, बस टुँडिखेलमा र साना गाडी रङ्गशालामा पार्किङको व्यवस्था मिलाइएको छ। ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको एमालेले जनाएको छ।
लोकतन्त्र दिवसको सन्दर्भ
वि.सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद् पुनःस्थापना गर्दै कार्यकारी भूमिकाबाट हट्ने घोषणा गरेपछि नेपालमा लोकतन्त्रको पुनर्स्थापना भएको थियो। यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाइन्छ।