जनकपुरधाम । विगत तीन दिन यता धनुषा सहित मधेश प्रदेशका जिल्लाहरूमा दिउँसोको समयको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको कारणले जनजीवन प्रभावित भएको छ ।
बिहान देखि नै चर्को घामसँगै गर्मी शुरु हुने गरेका कारणले खुल्ला आकाशमुनि काम गर्ने श्रमिक वर्ग तथा निम्न वर्गका व्यक्तिहरूको जनजीवन नराम्रोसँग प्रभावित बनिरहेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । तापक्रम बढेसँगै दिउँसोको समयमा जनकपुरधाम नगर क्षेत्रमा चहलपहलमा कमी आएको छ । यसका साथै सार्वजनिक यातायात हिँड्ने यात्रीको सङ्ख्यामा कमी आएको छ ।
मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साको जनजीवन प्रभावित बनेको छ ।