काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सहायक सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।
त्यसैगरी, प्रदेश सम्मेलनहरू जेठ ५ गतेसम्म गरिसक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौँमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौँमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदूरपश्चिमको वैशाख २३ र २४ गते धनगढीमा, १ नम्बर प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङको घोराहीमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताइएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले आजको वाईसीएल २०६२/०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताउनुभयो । तत्कालीन समयमा सडक सङ्घर्षबाट चिनिएको वाईसीएल अहिले बाढी आएको ठाउँमा, भूकम्प गएको ठाउँमा जनताको रक्षाको लागि पुग्ने गरेको बताउनुभयो । ‘आज हामीलाई चाहिएको स्मार्ट वाईसीएल हो । युवा सङ्गठनको काम ढुंगामुडा मात्रै गर्ने, नारामात्रै लगाउने बुझाइ छ । युवा सङ्गठनको काम यो मात्रै होइन । उत्पादनको क्षेत्रमा पनि युवा सङ्गठनले काम गर्नुपर्छ भनेर हामी लागेका छौँ,’– उहाँले भन्नुभयो ।
अध्यक्ष सुबोधराज सेर्पालीले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताउनुभयो । ‘यो देशमा गणतन्त्रप्रति जनता खुसी छन्, जनतालाई अर्को कुनै तन्त्र चाहिएको छैन । व्यवस्थाप्रति जनता सन्तुष्ट छन् । तर, जनताको अवस्था नबद्लिँदा, राजनीतिक घोषणापत्रहरूमा जे कुरा हामीले भन्यौँ, ती कुरा सही ढंगले लागू नगर्दा जनतामा जुन खालेको निराशा छ, त्यो निराशा चिर्न वाईसीएल नेपाल र माओवादी केन्द्र दृढतापूर्वक लाग्छ । हाम्रा आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ,’– उहाँले भन्नुभयो ।