पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–१ वाकामलाङ्गमा आगलागिबाट मङ्गलवार एक घरगोठ जलेर नष्ट भएको छ । जङ्गलमा लागेको आगो हावाले उडाएर बस्तीमा सर्दा बाकामलाङ जुरेडाँडाका स्थानीय दिल बहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको अवस्थामा मङ्गलवार अपराह्नमा लागेको आगोले सारुको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । गोठमा रहेको गाई/भैँसी,साना पाठापाठी र माउ गरी दर्जनभन्दा बढी पशुचौपाया र घर भित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडासँगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । आगोलागिबाट २५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
आगो निभाउन स्थानीयहरू छिमेकी गाउँबाट पनि पुगेका थिए । साँझ पख मात्र आगो नियन्त्रणमा आएको हो । केलादी प्रहरी चौकीका अनुसार घर नजिकै जङ्गलमा लागेको आगो हावाहुरी चले पछि बस्तीमा पसेको थियो । हावाले उडाएर सुरुवातमा गोठमा सल्किएको थियो । खरले छाएको गोठसँगै खर र जस्ताले छाएको घरमा क्षति भएको हो ।