नवलपरासी । सुक्खा पहिरो खस्दा नारायणगढ–बुटवल सडक खण्डको नवलपरासी दाउन्ने क्षेत्रमा गाडीको आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यो सडक खण्डको दुवैतर्फ गाडी आवागमन पूर्णरूपमा अवरुद्ध छ । दाउन्ने क्षेत्रमा सयौं गाडी जाममा परेका छन् । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
भित्ता काटेर सडक खुलाउनुपर्ने र केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताउनुभयो । दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी आवागमन रोकेर काम गर्ने गरिएको छ ।