कञ्चनपुर। कञ्चनपुरको बेलौरीस्थित कलकत्ता नजिकै एक व्यक्ति मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दका अनुसार मृतकको सनाखत गर्दा बेलडाँडी गाउँपालिका वडा नम्बर-३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको पुष्टि गरिएको छ । परिवारजनका अनुसार, राना मङ्गलवार एकाबिहानै घरबाट निस्किएका थिए । उनी करिब ७ किलोमिटर टाढा बेलौरीको कलकत्ता क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको छ । तालिम प्राप्त कुकुर समेत घटनास्थल मगाइएको छ । प्रहरी टोली हाल घटनास्थलमै रहेको छ । मृतक राना पेशाले भैंसीपालक किसान हुन् । उनी स्थानीय क्षेत्रमा दुग्ध व्यवसायमा पनि सक्रिय रहेको जानकारी प्राप्त भएको छ ।