सुनसरी। सुनसरी जिल्लाको इटहरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११ बजे तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक किनारको जामुनको रूखमा ठोक्किएको हो ।
दुर्घटनामा परी इटहरी-१ निवासी ४० वर्षीय विष्णु राउत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा कार चालक रामधुनी नगरपालिका-७ निवासी ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । उनीहरूको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, कार धरानबाट इटहरीतर्फ आउँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनामा प्र–०१–०३० च ४६१८ नम्बरको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।