चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहालले अहिलेको कांग्रेस–एमाले सरकार असफल भएको दाबी गरेकी छिन् । आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाको कुराकानीमा उनले यस्तो दाबी गरेकी हुन् ।
उनले सरकारले डेलिभरी दिन नसकेको र जनता आक्रोशित बन्नुको पनि सरकार नै प्रमुख कारण भएको तर्क गरिन् । उनले सरकार लामो समय नजाने दाबी गरिन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाई छ ।
अहिले आफ्नो बुवा प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि उनको स्पष्टोक्ति थियो । पछिल्लो समय माओवादीप्रति जनतामा क्रेज देखिएको पनि दाहालको टिप्पणी छ । माओवादीमा बृहत्त सुधार र रुपान्तरण भैराखेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपा र आफूहरुबीच गठबन्धन हुनसक्ने बताईन् । उनले भनिन्,‘प्रचण्ड र रवि लामिछाने मिलेर जानुहुन्छ ।’
कुराकानीको क्रममा मेयर दाहालले भरतपुरको विकासमा एमालेले अवरोध सिर्जना गरेको आरोप लगाईन् । प्रचण्डको अथक प्रयासले चितवनको विकास भएको उनको दाबी छ । चितवनको विकासको जस प्रचण्डलाई जाने उनको भनाई छ । अब नेपालमा राजसंस्था नफर्कने पनि उनको दाबी छ । गणतन्त्र पनि प्रचण्डले ल्याएको भन्दै प्रचण्डकै नेतृत्वमा गणतन्त्रको रक्षा हुनेमा उनी विश्वस्त छिन् ।