चितवन । भरतपुर महानगरपालिका वडा नं–२५, छाता चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुद्धनगरबाट अमृत चोकतर्फ आउँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किने क्रममा बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ना ५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर–२७ बस्ने ३९ वर्षीय टेकबहादुर पुलामीमगर र बागमती प्रदेश ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल चालक भरतपुर–२० बस्ने ३५ वर्षीय विशाल भट्टराईको मृत्यु भएको छ । पुलामीमगरको पुरानो मेडिकल कलेज (सिएसएस) भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
१३०४ नम्बरको मोटरसाइकलपछाडि सवार २० वर्षीय सफल पौडेल, २०४० नम्बरको मोटरसाइकलपछाडि सवार २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर घाइते भएका हुन् ।
घाइतेमध्ये केशरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।