चितवन ।चितवनका उदयीमान भिडियो सम्पादक पुजन लामिछानेले छोटो समयमा दुईवटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएका छन् ।
‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ र ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ हात पारेर लामिछानेले नेपाली म्युजिक भिडियो सम्पादन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका हुन् । ‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ मा पुजनले गीत ‘काले’ का लागि ‘उत्कृष्ट पप गीत भिडियो सम्पादक’ को उपाधि प्राप्त गरेका छन् कार्यक्रममा प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटा र निर्देशक नारायण रायमाझीको उपस्थितिमा उनलाई सम्मान गरिएको हो ।
‘काले’ गीतका रचनाकार चितवनकै बिष्णु शर्मा हुन् । गीतमा एलिना चुवानको स्वर, किशोर चौधरीको निर्देशन, र सम्पूर्ण छायांकन चितवनमै गरिएको हो । यसअघि, २५ मार्च २०२५ मा थाइल्याण्डको बैंककमा सम्पन्न ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ मा पनि लामिछानेले ‘श्रेष्ठ भिडियो सम्पादक’ को अवार्ड जितेका थिए । वुमेन्स इरा एन्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भबिन्द्र बस्नेत प्रमुख अतिथि रहेका थिए ।
यो अवार्ड उनले गीत ‘दशैं आयो’ को लागि प्राप्त गरेका हुन् । यस गीतमा गायक अमित रसालीको स्वर, कुमार सन्जाली मगरको संगीत संयोजन, तथा किशोर चौधरीको निर्देशन रहेको उक्त गीतको छायांकनमा आशिष काफ्ले र लोकेशन चितवनको उपरदाङगढी रहेको थियो ।
अवार्ड हात पारेपछि लामिछानेले पुरस्कार केवल ट्रफी मात्र नभइ मेहनतको फल भएको बताए । मैले कहिल्यै ठूलो सपना सपना देखेको छैन उनले भने सानो सानो प्रयासबाटै सफलता मिल्दै गएको महसुस गरेको छु । पुजनको सफलताले चितवनको प्रतिभा र मेहनतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चम्काउँदै लैजान सफल भएको छ । उनले सम्पादनमा देखाएको समर्पण र सिर्जनशीलता युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।