दमौली (तनहुँ)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिरको आज दर्शन गर्दै उहाँले सबै मिलेर यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आज मुख्यमन्त्री पाण्डेले छाब्दीबाराही विकास कोषका पदाधिकारीसँग छलफलसमेत गर्नुभएको छ । छाब्दीबाराही मन्दिर गण्डकी प्रदेशको महत्त्वपूर्ण धार्मिकस्थल भएकाले यसको प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले मन्दिरका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।
“छाब्दीबाराहीमा सुनको टीका भएको माछाका रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिरबाहिर खोलामा पनि हजारौँ माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो ।
मन्दिरमा तीनजना मगर जातिका पुजारी रहेका छन् । यहाँ साउन, एकादशी र औँसीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
गत वर्ष पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसक्रममा ६५ जिल्लाबाट भक्तजन यहाँ आएको तथ्याङ्क रहेको कोषले जनाएको छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष थापाले जानकारी दिनुभयो । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिने गरिन्छ । छाब्दीबाराही मन्दिर परिसरमा पुरानो छाब्दीबाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रूपमा रहेका छन् ।
‘नेपाली सेनाले इतिहास जोगाउने काम गरेको छ’
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले इतिहास संरक्षणमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभएको छ । नेपाली सेनाले गोरखाबाट सुरु गरेको गोरखा–जितगढी एकीकरण पदयात्राको टोलीलाई आज दमौलीमा स्वागत गर्दै उहाँले सेनाले सुरु गरेको पदयात्राले विगतको इतिहासलाई स्मरण गराउने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एकीकरणको सन्दर्भमा कसरी यात्रा भएको थियो, कसरी अगाडि बढेको थियो, तत्कालीन गोरखाली राजालाई गोरखाली जनताले साथ दिएर नेपालको एकीकरणको यात्रालाई सफल बनाएको कुरा यो यात्राले स्मरण गर्न सहयोग पु¥याएको छ ।” उहाँले सेनाले सुरु गरेको पदयात्रालाई सम्बन्धित स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेनाको एकीकरण पदयात्रालाई तनहुँमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियान अहिलेको पुस्ताका लागि अध्ययनको विषय बनेको उल्लेख गर्नुभयो । त्यस क्रममा मुख्यमन्त्री पाण्डे र नगरप्रमुख न्यौपानेले पदयात्राका टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्नुभएको थियो ।
गोरखाबाट सुरु भएको एकीकरण पदयात्राको टोली तनहुँको भानु, व्यास नगरपालिका–११ तनहुँसुर हुँदै दमौली आइपुगेको हो । आजै तनहुँसुरमा आयोजित कार्यक्रममा भानुबाट रुरु भैरवदल गणको नेतृत्वमा आएको टोलीले कालीभञ्जन गण (इ) लाई पदयात्राको झन्डा हस्तान्तरण गरेको थियो ।
तनहुँसुरबाट घिरिङ गाउँपालिकाको धेनुङसम्म कालीभञ्जन गण (इ) ले नेतृत्व गर्नेछ । धेनुङ देउरालीमा कालीभञ्जन गण (इ)ले श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गर्ने कालीभञ्जनका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिनुभयो । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दी फेमस महेन्द्रदल गणलाई झन्डा हस्तान्तरण गरिनेछ ।
केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झन्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जितगढीसम्म पुग्ने कार्यक्रम छ । पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखाबाट जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।