काठमाडौं । ड्यानियल माल्दिनी र ब्राहिम डियाजको गोलमा एसी मिलानले आज इटालियन सिरी ‘ए’ फुटबलमा स्पेजियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
भ्रमणकारी मिलानले माल्दिनीको गोलबाट ४८औँ मिनेटमा अग्रता लिएको थियो । माल्दिनीले पिइरे कालुलुको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । ८०औँ मिनेटमा वैकल्पिक खेलाडी ड्यानिले भेर्डेलेको गोलबाट घरेलु टोली स्पेजियाले बराबरी गर्यो । भेर्डे ६५औँ मिनेटमा जाकोपो सालाको स्थानमा मैदान छिरेका थिए ।
त्यसको ६ मिनेट बित्न नपाउँदै डियाजले गोल गरेपछि मिलानले तीन अंक पक्का गरेको हो । रियाल मड्रिडका पूर्वमिडफिल्डर डियाज ८२औँ मिनेटमा फ्रांक केसीईको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको चार मिनेट बित्न नपाउँदै डियाजले गरेको गोल मिलानको जितमा निर्णायक बन्यो ।
जितसँगै मिलान १६ अंक जोडेर सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । मिलानभन्दा एक खेल कम खेलेको नेपोली १५ अंकका साथ दोस्रो स्थानमा छ । पाँच खेलबाट १३ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।
इन्टरले आजै घरेलु मैदानमा एटलान्टाविरुद्ध खेल्नेछ । ६ खेलबाट चार अंक जोडेको स्पेजिया १७औँ स्थानमा छ । त्यो रेलिगेसन क्षेत्रभन्दा एक अंकले माथि हो ।