नवलपुर। मौरीको चरन क्षेत्र अभावमा व्यावसायिक रुपमा मौरी पाल्ने यहाँका किसान मौरी लिएर पश्चिम नेपालको दाङसम्म पुग्न बाध्य छन् । स्थानीय किसानले आफ्नो अन्नबालीमा विषादीको प्रयोग गर्दा मौरीपालक किसान मौरी बोकेर डुल्नुपर्ने अवस्था सिर्जना भएको हो ।
नवलपुरको गैँडाकोट–४ व्यावसायिक रुपमा मौरी पाल्दै आउनुभएका विजय मौरी फार्मका सञ्चालक तेजबहादुर रानाले बर्सेनि मौरी चराउन अन्यत्र लैजानुपर्ने बाध्यता भएको बताउनुभयो । आफूले २० वर्षदेखि स्थानीय जातको मौरी पाल्दै आएकामा पाँच वर्षदेखि व्यावसायिक रुपमा मेलिफेरा जातको मौरीपालन गरेको उहाँको भनाइ छ । आफूसँग ९० घार मौरी रहेको बताउँदै रानाले मौरी चराउन लैजान र ल्याउन साह्रै गाह्रो हुने गरेको गुनासो गर्नुभयो ।
नवलपुरमा तोरी, फापरसहित अन्य खेतीहरु प्रशस्त हुने गरेको भए पनि यहाँका किसानले बढी विषादी प्रयोग गर्नाले मौरी बोकेर डुल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । पश्चिम नेपालको कपिलवस्तु, दाङमा अगौटे तोरी हुने र विषादी पनि नछर्ने भएकाले असोजको पहिलो हप्तादेखि मौरी चराउन लिएर जाने गरेको उहाँको भनाइ छ ।
“बर्दघाटबाट पश्चिम लागेपछि त्यहाँका किसानले तोरीमा विषादी पनि हाल्दैनन्, महको उत्पादन पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय तोरीमा विषादी बढी हालिने भएकाले मौरी पनि मर्ने सम्भावना र मह पनि गुणस्तरीय नहुने भएकाले दाङतिर चराउन लैजान्छौँ ।”
मौरीपालनमा राम्रो आम्दानी हुने भए पनि किसानको मह बिक्रीमा समस्या रहेको उहाँले बताउनुभयो । कूल ९० घारबाट एक पटक मह झिक्दा कम्तीमा पनि पाँच सय किलो मह निस्कने भन्दै उहाँले नेपाली किसानको महले मूल्य नै नपाउने गरेको गुनासो गर्नुभयो । भारतबाट कम गुणस्तरको मह आउँदा गुणस्तरीय नेपाली महको बिक्रीमा समस्या भएको उहाँको भनाइ छ ।
“यहाँ विचौलियाको बिगबिगी छ, हामीले उत्पादन गरेको महलाई प्रतिलिटर रु २५० भन्दा बढी तिर्न खोज्दैनन्”, उहाँले भन्नुभयो, “कम्तिमा पनि प्रतिलिटर रु ४०० सम्म बिक्री गर्न पाए हामीलाई पनि राम्रो हुन्थ्यो ।” सस्तोमा मह बिक्री गर्न भन्दा नबेच्ने भन्दै धेरै किसानले मह घरमै राख्ने र आफैँले ब्राण्डिङ गरेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । रानाले आफूसँग अहिले पनि करिब ६०० किलो मह मौज्दात रहेको बताउनुभयो ।
नवलपुरको देवचुलीका मौरीपालक किसान नन्दु सापकोटाले व्यावसायिक रुपमा मौरी पाल्दै आएका किसानले उत्पादन गरेको मह बिक्री नहुँदा जिल्लाका धेरै किसान समस्यामा परेका बताउनुभयो । नवलपुरमा हाल १५० भन्दा बढी व्यावसायिक मौरीपालक किसान रहेका भन्दै उहाँले व्यावसायिकरुपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत उल्लेख्य रहेको सापकोटाको भनाइ छ । महको प्रयोग स्वास्थ्यका लागि लाभदायक भएकाले यसको माग बढे पनि बहुर्राष्ट्रिय कम्पनीका कारण नेपाली किसानको मह बिक्री हुन नसकेको उहाँको भनाइ छ ।
व्यावसायिकरुपमा मौरीपालन गर्ने किसानले एउटा घारमा १० वटा फ्रेम बनाएर मौरी राख्ने र प्रतिघार बर्सेनि ६० किलोसम्म मह उत्पादन हुने सापकोटाले बताउनुभयो । तोरी फुल्ने समयमा मह उत्पादनमा सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको उहाँको भनाइ छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरी, भोर्लेजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठीक हुने भए किसानले खेती गर्न छाडेका उहाँले बताउनुभयो ।