काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले लोडशेडिङको अन्त्यका लागि आफूले इमानदार प्रयास गरेको बताउनुभएको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी घिसिङले आफूलाई प्राधिकरणबाट हटाउने विषय आमनागरिकमा छर्लङ्गै रहेको बताउनुभयो । उहाँले उद्योगीको बक्यौता विद्युत् महसूल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको भन्दै गुनासाे गर्नुभयाे । उहाँले आफू विचलित नरहेको र नागरिकको आशीर्वादले हार्ने छुट पनि नरहेको समेत उल्लेख गनुभयो ।
आफूमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको घिसिङको आरोप छ । मन्त्रिपरिषद् बैठकले हटाउने दिन पनि आफू बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीका रूपमा रहेको चेपाङ बस्तीमा खटिएको उहाँले बताउनुभयो ।
गएको चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गरेको थियो । घिसिङलाई हटाएर प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइएको हो । घिसिङ र सरकारबीच डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विषयलाई लिएर लामो समयदेखि विवाद थियो ।
झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ‘लोडशेडिङमुक्त’ घोषणा भएको थियो ।