चितवन। चितवनमा राहदानी बनाउनेसँगै वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पछिल्ला केही वर्षदेखि चितवनमा राहदानी बनाउनेको संख्या निरन्तर बढ्दै गएको देखिन्छ, त्यससँगसँगै विदेशीनेको संख्या पनि तिब्र रुपमा बढेको छ।
चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा चितवनबाट १८ हजार ५४६ जनाले राहदानी बनाएका छन् भने १३ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
तथ्यांकअनुसार गत वर्ष चितवनबाट कुल ३० हजार ३४१ जनाले राहदानी बनाएका थिए। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा २३ हजार ५८ जनाले राहदानी बनाएका थिए।
आर्थिक वर्ष २०७८/८९ मा १५ हजार ६१६ जनाले राहदानी बनाएका थिए। २०७७/७८ मा ९ हजार ५२८ जानले राहदानी बनाएका तथ्यांकले जनाएको छ ।
यस्तै , वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष चितवनबाट १८ हजार २ सय ४८ जनाले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गरेका थिए । जसमध्ये १५ हजार ३६३ जना पुरुष रहेका थिए भने २ हजार ८८५ जना महिला रहेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कुल १५ हजार ८३२ जना वैदेशिक रोजगारीमा गएका थिए। जसमध्ये १३ हजार ५१८ जना पुरुष र २ हजार ३०५ जना महिला रहेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा कुल १३ हजार ९३५ जना वैदेशिक रोजगारीमा गएका थिए। जसमध्ये ५ हजार ४९६ पुरुष र ८ हजार ४३९ जना महिला रहेका थिए।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा कुल चार हजार ११६ जना वैदेशिक रोजगारीमा गरेका थिए । जसमध्ये ३ हजार ७०५ पुरुष र ४११ जना महिला रहेका तथ्यांकले जनाएको छ ।
विभागका अनुसार खास गरि पछिल्ला वर्षमा विदेशिनेहरुमध्ये उच्च शिक्षा अध्ययनमा जानेहरु बढि देखिन्छन् ।रोजगारी अभाव र आर्थिक उपार्जनको माध्यम र अवसरको खोजि विद्यार्थीहरु बढो विदेशिएको देखिन्छ । त्यसमध्ये पनि कक्षा १२ पास गरेपछी विदेशिने क्रम ह्वात्तै बढेको देखिन्छ।
त्यसका प्रतिनिधि पात्र हुन्, भरतपुरका अमन सापकोटा । उनी स्नातकोत्तर पास गरे लगत्तै जापनिज भाषा अध्यन गरिरहेका छन्। उनी भन्छन् , ” पढाइ अनुसारको राम्रो जागिर नपाए मैले विदेशीने योजना बनाएको हो।
पछिल्लो समय देशमा नीति तथा शैक्षिक योग्यता अनुसारको काम नपाएकै कारण हामी जस्ता हजारौं युवा विदेशीन बाध्य भएका छौ । अरु देशमा कामको मुल्यांकन गर्छन् दुख गरे अनुसारको पैसा कमाउन सकिन्छ उनलेे भने। अझै पनि सरकारले यस विषयमा चासो दिएन भने वर्षेनी नेपालमा युवाहरूको सङ्ख्या घट्दै जान्छन्।
यता, स्वदेशमै केही गर्ने र परिवारसगै बस्ने सपना देखेका युवाहरु पनि आफ्नो काम र पारिश्रमिकबाट सन्तुष्ट देखिदैनन् । माडी घर भएका पारस सुनार हाल भरतपुरमा आफ्नो परिवारसंग डेरामा बस्दै आएका छन् । उनले स्नातक पास गरेका छन् । उनी विगत तीन वर्ष देखि सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका छन् ।
आफुले जागिर गरे पनि घर भाडा तिर्न, छेराछेरि पढाउन निकै धौधौ पर्ने गरेको उनी बताउँछन् आफ्नो देशमा केही गर्नु पर्छ भन्ने मान्यता भए पनि पैसाको अभावका कारण विदेशीन बाध्य भएको उनलेे बताए । उनले आफै पनि बैदेशिक रोजगारीका लागी दुबई जाने तयारीमा लागिरहेको बताउछन् ।