चितवन। नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को तेश्रो दिन विषय विज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा “नेपालको वर्तमान आर्थिक परिदृश्य: औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षता सम्पन्न कार्यक्रममा नीति निर्माण, समन्वय तथा अनुसन्धान विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मुख्य वक्ताको रुपमा रहनु भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा.विश्व पौडेलले नेपालको अर्थतन्त्रको वर्तमान परिदृष्यमा उद्योगधन्दाको अवस्था, सम्भावना, चुनौती र आगामी दिनमा गर्नुपर्ने समृद्धिका उपायहरुका विषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो ।
छलफल कार्यक्रममा प्यानलिष्ट बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले बागमती प्रदेशको हालको आर्थिक अवस्थाको तथ्यगत अवस्था, प्रदेश सरकार गठन पश्चात उद्योग व्यवसाय, रोजगारी, अर्थतन्त्र सुदृढीकरणमा भएका उपलब्धीका विषयमा आफ्ना धारणा राख्नु भएको थियो । त्यस्तै अर्का प्यानलिष्ट नेपाल सरकारका पूर्व सचिव एवं माइक्रो इन्टरप्राइजेज विज्ञ, डा. मानबहादुर बीकेले हरेक वर्षको कुल गाहस्र्थ उत्पादनमा योगदान, उद्योग क्षेत्रको स्थापना र निरन्तरताको अवस्था, नयाँ उद्योग दर्ताको समयमा राज्यले दोहोरो लाभ एकै व्यवसायीबाट लिने नीतिगत अवस्थाका विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तै अर्का प्यानलिष्ट नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना महाशाखा प्रमुख हुमकला पाण्डेले अहिले नेपालको उद्योग क्षेत्रको संख्यात्मक अवस्था, साना उद्यमीलाई बजार प्रवद्र्धन, संरक्षण नीतिमा राज्यले खेल्नु पर्ने भूमिका लगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । त्यस्तै अर्का प्यानलिष्ट चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले उद्योगी उत्साहितको सट्टा निरुत्साहित हुँदै जानुको कारण, सरकारले आन्तरिक तथा बाह्य लगानी बढाउन र व्यावसायिक वातावरण बनाउन चाल्नु पर्ने कदमहरुको विषयमा प्रष्ट पार्नुभएको थियो । प्यानल छलफल कार्यक्रमलाई पत्रकार प्रतिमा सिलवालले सहजीकरण गर्नुभएको थियो ।
छलफलका सरोकारवाला व्यक्ति तथा निकायहरुबाट आएका जिज्ञासाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले सुल्झाउने प्रयास गरेका थिए ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
डा.मान बहादुर बीके सम्मानित :
नेपालकै प्रशासनिक इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी र विशिष्ट श्रेणी सचिव भई वि.सं.२०७८ सालमा सेवा निवृत्त हुनुभएका पाल्पाको तत्कालिन देउराली गाउँ विकास समिति, वडा नं. ८, लघुवा (हालको रिब्दीकोट गाउँपालिका वडा नं.२) मा जन्मनु भएका तपाईं डा. मान बहादुर बीके ले आ.व.०७१/०७२ मा चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा चितवन प्रदर्शनी केन्द्र निर्माणका लागि चितवन उद्योग संघलाई नेपाल सरकारको जग्गा दीर्घकालिन लिजमा उपलब्ध गराउन खेल्नु भएको उच्च समन्वयात्मक भूमिकाको कदर गर्दै नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को अवसरमा बीकेलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङ्गका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, प्रदर्शनीका क्रममा उद्योगीहरूका वीच हुने प्रत्यक्ष भेटघाट र छलफलका माध्यमबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रदर्शनीको कुलिङ पार्टनरमा ब्लु स्टार ए.सी., बैकिङ्ग पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक, फर्निचर पार्टनर फर्निटेक प्रा.लि., स्न्याक्स पार्टनरमा रिजाल फुड्स् एण्ड वेभरेजेज प्रा.लि., पेन्टस् पार्टनरमा रोयल पेन्टस्, आईएसपि पार्टनरमा टेकमाइन्ड नेटवर्क लि. रहेका छन् ।
यसैगरी, प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लि. को आयोजना तथा फुटवेयर म्यानुफ्याक्चरर एशोसिएसन नेपालको सहकार्यमा नयाँ वर्ष २०८२ लाई लक्षित गरी वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला को समेत आयोजना हुँदैछ ।
स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्ने उद्देश्यका साथ स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला आयोजना गरिएको हो ।