चितवन। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।
उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासङ्घ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएको बताउनुभयो । त्यसअवसरमा चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टीकादत्त तिमिल्सनालगायतले घटनाको विरोध गर्दै अराजक तत्वलाई कारबाहीको माग गर्नुभयो ।
उहाँहरुले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।