काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिनुभयो ।
यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गर्नुभएको थियो ।
आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।
उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।