चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् । विद्यार्थीहरुले राप्ती नगरपालिका ७ स्थित दिव्यज्योति आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन् ।
इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका विद्यार्थीहरुले २० हजार रुपैँया बराबरको कापी, कलम, फुटबल, क्रिकेट ब्याट, बल, लुडोलगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । ग्रीनल्याण्डका विद्यार्थीहरुले यस अघि पनि विभिन्न विद्यालयमा यसरी नै सहयोग गरेका थिए ।
कार्यक्रमका राप्ती नगरपालिका ७ का वडाध्यक्ष सुमित डल्लाकोटी, ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्की, दिव्यज्योतिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर पुन, प्राचार्य कल्पना पौडेल, इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका अध्यक्षद्धय विदुषी कार्की र मनिषा थापालगायतको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।