काठमाण्डाै । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा आज काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ ।
स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘लोडशेडिङ चाहिँदैन, उज्यालो नेपाल जिन्दावाद, मन्त्रिपरिषद्को निर्णय खारेज गर’ लगायतका नारा लगाएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । आज रत्नपार्कमा रहेको विद्युत् प्राधिकरणको कार्यालयमा पनि सुरक्षा सर्तकता बढाइएको छ । घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले समेत विरोध गरेका छन् ।
२०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाएकाे हो । कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ । अबको ४ महिनापछि घिसिङको कार्यकाल सकिँदै थियो । सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।