चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात एवं कार्यकक्षमा तोडफोड भएको छ ।
केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघसम्वद्ध एक समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन पुगेको समूहले आफूहरूमाथि गलत व्यवहार भएको भन्दै केन्द्र प्रमुख श्रेष्ठलाई हातपात गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका थिए । त्यसक्रमममा केन्द्र प्रमुखको कार्यकक्षमा ताला समेत लगाइएकोमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल पुगेर ताला फुटाउनुभएको थियो ।
यसैबिच, डिजिटल डिस्प्ले बोर्ड ह्याक हुन पुगेको नेपाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी गरेको छ । केन्द्रले यस बिषयमा छानबिन गर्ने समेत बताएको छ । यस्तो कार्यमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ ।