काठमाडौँ। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरूबाट विरोध भइरहेको छ।
मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नासाथ सोमबार साँझ सांसदसमेत रहेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए।
आज बिहान कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि कुलमान हटाएकामा आपत्ति जनाएका छन्। उनले यसलाई सरकारको कुशासनको अर्काे कडी भएको टिप्पणी गरेका छन्।
‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले’, उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि।’
त्यसो त कुलमान हटाउने निर्णय गर्दैगर्दा मन्त्रिपरिषद् बैठकमै कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले आपत्ति जनाउँदै निर्णय गर्न नहुने भनेर प्रधानमन्त्रीलाई सचेत गराएको खबर सार्वजनिक भएको छ। कुलमान हटाएकामा प्रतिपक्षी दलले त कडा विरोधको तयारी नै गरेका छन्।