काठमाडौँ। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ।
यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत ५ महिनादेखिको मौनता तोड्दै फेसबुकमा झुल्किएका छन्।
सोमबार मध्यराति फेसबुक लाइभमा आउँदै उनले बजुलीबत्ती निभाएर सलाई कोर्दै मैनबत्ती बालेका छन्।
१ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा उनले केही बोलेका छैनन् तर क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।’
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते गिरफ्तार भएयता पूर्वगृहमन्त्रीसमेत रहेका रविले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन्।
पक्राउ पर्नुअघि अन्तिम स्टाटस उनले त्यही दिन (अक्टोबर १८) उनले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ शीर्षकमा लेखेका थिए।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत पुस २५ गते छुटेपछि पनि उनले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन्। अहिले भने कुलमानलाई विद्युत् प्राधिकरणबाट हटाइएपछि त्यसैलाई लक्ष्य गर्दै उनी फेसबुकमा देखापरेका हुन्।