चितवन। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिका एक सय युवालाई प्राविधिक र नेचर गाइडको तालिम दिइएको छ ।
निकुञ्जसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) को सहयोग तथा तराई भू–परिधि कार्यक्रमको समन्वयमा सो तालिम दिइएको हो । जैविक विविधता संरक्षणमा सहयोग पुग्नेगरी यहाँका युवालाई सीपसँगै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरिएकोे तराई भू–परिधि कार्यक्रमका पूर्वी क्षेत्र इन्चार्ज प्रेम पौडेलले जानकारी दिनुभयो ।
उनीहरुलाई आज सौराहमा एक समारोहका बीच प्रमाण–पत्र प्रदान गरियो । जसमध्ये ७७ युवालाई सिटिइभिटीअनतर्गत बारीस्ता, कुक, बेकरी व्यूटी पार्लर, एसी, फ्रिज मेकानिकललगायतका तालिम प्रदान गरिएको र २३ युवालाई नेचर गाइडको तालिम दिएको पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा डब्लुडब्लु एफ नेपाल प्रमुख डा घनश्याम गुरुङले युवामा सीपबाट काम गर्ने वातावरण बन्ने हुँदा सीपको आवश्यकता पर्ने बताउनुभयो । संरक्षणको क्षेत्रमा लामो समय व्यतित गर्नुभएका पुराना संरक्षणकर्मी रामपृत यादवले प्रकृतिको संरक्षण निरन्तर रुपमा भइरहनुपर्ने औँल्याउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष प्रकाश ढुङ्गानाले प्रकृतिको संरक्षणका लागि युवा नै अघि आउनुपर्ने बताउनुभयो ।