बैतडी। जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो ।
जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको हो । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर हुनुभएको छ । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।
जिल्ला अस्पतालमा अहिले दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृतसहित नौ चिकित्सक कार्यरत छन् । पछिल्लो समय अस्पतालले सेवा विस्तारमा जोड दिएको छ ।