चितवन । खैरहनी नगरपालिका वडा नं–१३ स्थित गवै माविका २१ जना विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको छ । वडा कार्यालयले सो विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई जनही एक–एकवटा ल्यापटप प्रदान गरेको हो । वडा कार्यालयले विद्यार्थीलाई ल्यापटप प्रदान गर्न ८ लाख रूपैयाँ लगानी गरेको छ ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको वडाध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिए । नयाँ प्रविधिलाई आत्मसात् गरी जीवन उपयोगी शिक्षाका लागि विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको भन्दै उनले यसलाई अवसरका रुपमा लिएर सदुपयोग गर्न आग्रह गरे । प्रविधिले विद्यार्थीको उज्ज्वल भविष्य निर्धारण गर्ने भन्दै वडाध्यक्ष भूषालले विद्यार्थीलाई छात्रवृत्तिपछि ल्यापटप प्रदान गरेको बताए ।
विद्यालयमा आयोजित कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाँ, उपमेयर कविता उप्रेती र वडाध्यक्ष भूषालले विद्यार्थीहरुलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर खनियाँले स्थानीय सरकारले शिक्षाम लगानी बढाएको भन्दै गरिब तथा टुहुरा बालबालिकाको शिक्षाका लागि आवासीय विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
विद्यार्थीलाई ल्यापटप दिएर वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालसहित जनप्रतिनिधिहरुको सिङ्गो टिमले रचनात्मक कामको सुरूवात गरेको भन्दै अन्य वडाका जनप्रतिनिधिहरुलाई १३ नम्बर वडाले गरेको कामको सिको गर्न उनले आग्रह गरे । विद्यार्थीहरु प्रविधिसँग नजोडिए आर्जन गरेको शिक्षाले सार्थकता नपाउने भन्दै मेयर खनियाँले शिक्षामा प्रविधिको प्रयोग र प्राविधिक शिक्षामा जोड दिएको बताए ।
उपमेयर कविता उप्रेतीले प्रविधिबिनाको शिक्षा बिकाउ नहुने भन्दै प्रविधि र जीवन उपयोगी शिक्षाले मात्र सार्थकता पाउने बताइन् । सामुदायिक विद्यालयमा सिकाइ उपलब्धि हासिल गर्न गृहकार्य कक्षा सञ्चालन गरिएको भन्दै उनले गत आर्थिक वर्षबाट सुरू भएको उक्त कक्षाको प्रतिफल प्राप्त हुने क्रम सुरू भइसकेको बताइन् । शिक्षामा गरेको लगानी खेर जान नदिन स्थानीय सरकारले अनेकौँ प्रयत्न गरिरहेको उनको भनाइ छ ।
गवै माविका प्रधानाध्यापक ऋषिप्रसाद खनालले शिक्षामा प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताए । प्रविधिको प्रयोग गर्न जानियो भने जीवन सहज हुने भन्दै उनले गलत प्रयोग हानिकारक हुने बताए । वडाध्यक्ष भूषालले शैक्षिक विकासका लागि विद्यार्थीकेन्द्रित काम गरिरहेको जानकारी दिए ।
तीन वर्षदेखि गवै माविमा ११ र १२ मा पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, स्नातक पढ्ने वडाभित्रका १९ जना छात्रालाई छात्रवृत्तिस्वरुप जनही १० हजार ५००, गवै माविमा साना कक्षामा पढ्ने कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन र सामग्री खरिद, दिव्यज्योति र धर्मेश्वर आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न २/२ लाख, दिव्यज्योति सामुदायिक पुस्तकालयलाई एक लाख ५० हजार, सिम्रेनी बालविकास केन्द्रलाई एक लाख तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत गवै माविलाई फर्निचर खरिदका लागि ४ लाख र दिव्यज्योति आधारभूत विद्यालयलाई भौतिक पूर्वाधार निर्माणका लागि ४ लाख रूपैयाँ प्रदान गरिएको वडाध्यक्ष भूषालले जानकारी दिए ।
उनले केही दिनअघि व्यक्तिगत लगानीमा गवै, दिव्यज्योति र धर्मेश्वर विद्यालयका विद्यार्थीहरुलाई क्यालकुलेटर वितरण गरेका थिए । वडा कार्यालयले ल्यापटप दिएका विद्यार्थीहरुलाई खैरहनी नगरपालिकाले कम्प्युटरसम्बन्धी आधारभूत तालिम दिने घोषणा गरेको छ ।
गवै माविका अध्यक्ष सुधीरकुमार ढकालको अध्यक्षतामा भएको ल्यापटप वितरण कार्यक्रममा वडा सदस्यहरु जीवन कार्की, शिवप्रसाद भूषाल, मनमाया तामाङ, नारायणदेवी परियारलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका सहायक प्राचार्य ईश्वरप्रसाद खनालले सञ्चालन गरेका थिए ।