चितवन । विभागीय टोली एपिएफ फुटबल क्लबले चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ९-० को फराकिलो जित निकालेको हो ।
भरतपुर-७, कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मीकुमारी घिसिङले ह्याट्रिक गरिन् । यस्तै, सरु लिम्बु र रेनुका नगरकोटेले समान २-२ तथा गीता राना मगर र प्रतीक्षा चौधरीले एक-एक गोल गरे । ह्याट्रिक गरेकी रश्मी प्लेयर अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एपिएफले अब सेमिफाइनलमा भरतपुर-२४ को सामना गर्नेछ । भरतपुर-२४ यसअघि एन्फा मकवानपुरलाई ५-० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा मंगलबार पहिलो चरणको अन्तिम खेल हुने छ । जहाँ त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्नेछन् । खेल दिउँसो ४ः०० बजे सुरु हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।