चितवन। चितवनमा आज उपभोक्ता अधिकार दिवस २०८१ को अवसरमा “स्वच्छ र प्रतिष्पर्धी बजार उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मुल नाराका साथ उपभोक्ता सचेतना कार्यक्रम भएको छ ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजना एवम् उद्योग वाणिज्य संघ–चितवनको सह आयोजनामा भएको हो । कार्यक्रममा सहभागीहरुले खाद्य वस्तुमा विषादी न्यूनिकरण गर्ने तफ जोड दिन सरोकारवाला निकायको ध्यानकर्षण गरेका थिए ।
कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले हामीले खाद्य सुरक्षा सम्बन्धी उपभोक्ता एवम् उद्योगीहरुलाई शिक्षा दिन नसकिएको बताउदै उहाँले उद्योगी व्यवसायीहरुलाई दण्ड जरिवाना भन्दा पनि शिक्षा दिनु पहिलो आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षा दिनका लागि सहकार्य गर्न उद्योग वाणिज्य संघ चितवन सधै तयार रहेका बताउनुभयो । उहाँले उपभोक्ताले पनि आफुले खरिद गर्ने वस्तुको गुणस्तर मापदण्डको बारेमा जानकारी लिएर मात्र खरिद गर्नपर्नेे बताउनु भयो ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेलले उपभोक्ताका अधिकार, उपभोक्ता एवम् उपभोग्य वस्तु तथा सेवा, उपभोक्ता अधिकार, खरिद गरिएका वस्तु फिर्ता सम्बन्धी भएका व्यवस्था, गुणस्तरहिन वस्तु, अनुचित व्यापारीक तथा व्यवसाय जन्य क्रियाकलप, उपभोक्ता संरक्षण ऐन २०७५, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ मा भएको उजुरी, दण्डजरिवाना, क्षतीपूर्ति सम्बन्धी व्यवस्था लगायत उपभोक्ताले खाद्य वस्तु तथा अन्य वस्तु खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष ताराबहादुर कार्कीले वर्षको एक दिन कार्यक्रम गरेर खाद्य स्वच्छता सम्बन्धी शिक्षा दिन नसकिने बताउदै यस्ता कार्यक्रमहरु गरिराख्न पर्ने धारणा राख्नुभएको थियो । उहाँले सवै व्यवसायीले आफुले उत्पादन गरेको सामान स्वच्छ छ भन्ने संकल्प राखेर वस्तु उत्पादन गर्न अनुरोध गर्नुभएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक वन्दना पन्तले खाद्य स्वच्छताको मापदण्डका वारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश सिलवाल, वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत उद्योगी व्यवसायी र आयोजक संस्थाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।