चितवन। चितवनका ३ राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र नेकपामा माओवादी केन्द्र, चितवनका संयोजक रामचन्द्र अधिकारीले संयुक्त अपिल जारि गर्दै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संयुक्त अपिलमा भनिएको छ, चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेज /क्याम्पसहरुमा निर्वाचन हुँदै छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आवश्यकता र महत्वलाई आत्मसाथगर्दै चितवन जिल्ला संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध तपसील अनुसारको राजनीतिक दलहरुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने / गराउने प्रतिबद्धता व्यक्त गर्दछौ ।
निर्वाचनमा सहभागी सम्बद्ध विद्यार्थी संगठनहरुलाई देहाय बमोजिम गर्नका लागि हार्दिक अपील गर्दछौं ।
१. विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धीको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन राजनीतिक, शैक्षिक, सामाजिक तथा नेतृत्व विकासको दृष्टिले समेत महत्वपूर्ण रहेकाले चितवनका सबै कलेज / क्याम्पसहरुमा स्वच्छ र मर्यादित ढंगबाट निर्वाचन सम्पन्न गर्ने ।
२. स्थानीय स्तरमा सर्वपक्षीय सहमतीका आधारमा स्वतन्त्र विद्यार्थी युनियनको गठन गर्न सक्नेअवस्थालाई प्रोत्साहन गर्दै सोही अनुसार युनियन गठन गर्न अनुरोध गर्ने ।
३. सर्वपक्षीय आधारमा सहमती कायम गरी स्वतन्त्र विद्यार्थी युनियनको घोषणा गर्ने वातावरण निर्माणनभएमा मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचनमा भाग लिने ।
४. निर्वाचनमा हुन सक्ने सबै खाले अवान्छित गतिविधिलाई नियन्त्रण र नियमन गरी शान्ति सुरक्षाको पूर्ण व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने ।
५. निष्पक्ष र निर्भिक ढंगबाट निर्वाचनका गतिविधिहरु सम्पादन गर्नका लागि सम्बन्धित कलेज / क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिलाई अनुरोध गर्ने ।