मोरङ। नेकपा एमालेको १०औँ मोरङ जिल्ला अधिवेशनबाट संस्थापनइतर समूहको प्यानलै निर्वाचित भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने अजम्वर राई नेतृत्वको प्यानलै विजयी भएको हो ।
उपाध्यक्षमा सागर थापा तथा सचिवमा सोम थापा विजयी भएका छन् । यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन् । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ती लिम्बू सचिवमा रविन थापा उम्मेदवार थिए । उपसचिवमा शिल्पा कार्की र इर्जालाल राजवङ्शी उम्मेदवार थिए ।
राईलाई मोरङका पूर्वजिल्ला अध्यक्ष विनोद ढकालले साथ दिएका थिए । यसलाई ढकालको टिमको रूपमा पनि व्याख्या गरिएको थियो । पछिल्ला दिनमा ढकाल एमाले अध्यक्ष ओलीको टिमबाट पाखा पारिएका छन् । कुनै बेला ओलीको टिममा रहेर काम गरेका ढकाल टाढिएपछि एमालेको मोरङ मात्र होइन, प्रदेशको राजनीतिमै फरक बनेको छ ।
ढकालले गत वर्ष प्रदेश अध्यक्षको चाहना राखेका थिए । ओलीले ढकाललाई प्रदेश अध्यक्ष नदिने अडान राखेपछि उनी चुनावी प्रतिस्पर्धामै ओर्लिएका थिए । ढकालसँगै नेता घनश्याम खतिवडाले पनि प्रदेश अध्यक्षका लागि दाबी गरेका थिए । दुई नेताको दाबीमा ओलीले खतिवडाको लाइन लिएका थिए ।
त्यसैले, अन्तिम समयमा ढकाल संस्थापन लाइनभन्दा बाहिर पुगेर पराजित भए । त्यतिबेला पनि ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट भनेर प्रचारित भएको थियो । त्यसैले अहिले मोरङको जिल्ला अधिवेशनमा पनि ढकालको टिमलाई भण्डारीको टिम भनेर व्याख्या भएको हो ।