पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ। महोत्सवको यो २० औं संस्करण हो। होटल संघ पोखराले आगामि चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा फेवा नववर्ष महोत्सव हुने आयोजकले बताएको छ।
महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अंग्रेजी नयाँवर्ष जस्तै नेपाली नयाँवर्षलाई पनि उत्तिकै महत्व दिएर महोत्व आयोजना गरेको बताए। नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले बताए।
पोखरामा स्वदेशी र विदेशी पर्यटलाई आकर्षित गर्ने र फेवातालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए। ड्यामसाइडदेखि गैराकोचौतारासम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुने उनले जानकारी दिए।
अध्यक्ष सुवेदीका अनुसार खानाका विभिन्न परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टल र खेलकुदका कार्यक्रम समेत महोत्सवमा समेटिने उनले बताए। महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले बताएको छ।
‘स्तरोन्नती हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको छ। त्यसैले अब पोखरा आउजाउमा सहज छ,’ संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँवर्ष मनाउन पोखरा आउन आव्हान गर्दै भने, ‘यसअघि केही समस्या थियो। राजमार्गको सास्तीले पाहुनाले झन्झट बेहोरेको भएपनि अब त्यो समस्या केही कम भएको छ।’
कोभिड–१९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटनलाई लयमा फर्काउन समेत महोत्सव सहयोगी हुने अपेक्षा व्यावसायीको छ। महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुइ दशक अघि देखि ‘जाउँ है पोखरा’ अभियान समेत संचालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले बताए।