चितवन । चितवनका युवा व्यवसायी महेश लामिछाने निर्मित चलचित्र ‘भाइरल गोर्खे’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्रको दुई वटा पोस्टर सार्वजनिक गरिएको हो ।
फर्स्टलुकसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा भएको छ । जस अनुसार चलचित्र आउँदो वर्ष २०८२ को जेष्ठ ३० गते प्रदर्शन हुने भएको छ । सार्वजनिक दुई पोस्टर मध्य एकमा सौगातलाई भाइरल टिकटकरको रुपमा देखाईएको छ । जहाँ उनीले ढक बोकेर टिकटक बनाएको देखाउन खोजिएको छ । उक्त भिडियोलाई १४ लाख बढीले रियाक्ट गरेको देखाईएको छ ।
अर्को पोस्टरमा भने सौगात र सृष्टि दुबै फिचर्ड छन् । जसमा यी दुईलाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । ब्रेकअपपछि सौगात र सृष्टिले पहिलो पटक यही चलचित्रमा एकसाथ काम गरेका हुन् । सामाजिक संजालको दुरुपयोगले समाजमा पार्ने असर र सदुपयोगको फाइदालाई चलचित्रमा उतार्न खोजिएको निर्माता लामिछानेले बताए ।
चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेलको पनि अभिनय छ । यस्तै पत्रकार ऋषि धमलाले चलचित्रमा पत्रकारकै भूमिकामा अभिनय गरेका छन् । द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् ।
चितवनका सफल युवा व्यवसायीको रुपमा परिचित लामिछानेले पहिलो पटक चलचित्र निर्माणमा हात हालेका हुन् । भाइरल प्रवृत्तिले समाजमा पारेको असरको सामाजिक कथा भएकोले चलचित्रमा लगानी गरेको उनको भनाइ छ । लामिछाने द जिएमआईका प्रवन्ध निर्देशक हुन् । हालै मात्र उनको संस्था द जिएमआईले काठमाडौं र बुटवलमा आफ्नो शाखा स्थापना समेत गरेको छ ।