चितवन। नेपालमा अभिभावक बिहिनलाई मात्रै होइन बाबुआमा भएकालाइ पनि नागरिकता नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कठिन छ। हरेक नेपाली नागरिकले १६ वर्ष उमेर पूरा भएपछि नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्छन् । तर कतिपय नागरिकहरु नागरिकता बनाउनै सास्ती खेप्न बाध्य छन्।
खासगरी नागरिकता प्राप्त गर्न महिला र पुरुषलाई सहज भएपनि अन्य समूह( समलिङ्गी / तेस्रोलिङ्गी) लाई नागरिकता बनाउन सास्ती मात्रै होइन सकसपुर्ण चुनौति झेल्नुपरेको पाइएको छ।
सर्वोच्च अदालतबाट तेस्रो लिङ्गी तथा समलिङ्गीलाई नागरिकताबाट वञ्चित नगर्न भनि सरकारका नाममा आदेश जारि गरेपछी नागरिकता ऐन २०६४ केन्द्रित गर्दै नागरिकता नियमावली २०६९ लागू भएको थियो ।
सोही अनुसार यो समुहले नागरिकता पाउने व्यवस्था लागू भयो। तर अझै पनि उक्त समुहले सहज रुपले नागरिकता प्राप्त गर्न सकेको छैन । प्राप्त गरिहाले पनि विभिन्न समस्या झेलेर मात्रै नागरिकता प्राप्त गरेको उनिहरुले बताउने गरेका छन् ।
ऐन जारी भएको झण्डै ८ वर्षपछि चितवनमा पहिलोपटक २०७७ सालमा बल्ल लक्षित समुहमा नागरिकता प्रदान गरिएको थियो । यसरी नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति हुन् भरतपुर महानगरपालिका ९ का संगिता अधिकारी ।
झण्डै चार वर्षसम्म निरन्तर प्रयास गरेपछि संगिताले जिल्ला प्रशासन कार्यालय चितवनबाट २०७७ साल पुस २८ गते नागरिकतामा (अन्य) लेखेर नागरिकता प्राप्त गरिन् ।
संविधानमै भएको व्यवस्था लागू भएपछि पनि आफुलाई नागरिकता प्राप्त गर्न निकै सकस भएको उनको गुनासो छ। संगिता भन्छिन् , ” जिल्ला प्रशासन कार्यलयमा नागरिकता बनाउन जाँदा वडा बाट सिफारिस ल्याउन भन्यो वडामा जादा हामीले यस्तो कुरा सुनेको छैनौं कसरी विस्वास गर्ने अस्पतालबाट प्रमाण लिएर आउनुस् भन्यो । त्यस पछि म अस्पतालमा गएँ त्यसपछि डाक्टरले एउटा रिपोर्ट बनाईदियो । ”
सोही अस्पतालको रिपोर्टका आधारमा महानगरपालिकाबाट तेस्रोलिङ्गीको सिफारिस बनाएपछी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउन सफल भएको संगिताको भनाइ छ।
समाजले अझै पनि तेस्रोलिङ्गीहरु प्रतिको नजर सकारात्मक नहुँदा आँफुहरुलाइ समस्या हुने गरेको उनको गुनासो छ। उनको घरमा बुबाआमा , दुई वटा दिदी , दुई वटा दाइ छन् । घरपरिवारमा कुनै समस्या नभएपनि समाजले आफूप्रति गरेको व्यवहारले आफ्नो पठनपाठनमा समेत समस्या आएको उनको भनाइ छ। समाजकै तिरस्कारले उनले कक्षा सात भन्दा बढि पढ्न सकिनन् ।
न पढाइ र न काम भएपछी रोजगारीका लागी भारत आउने जानेक्रममा अनेकौं असहज परिस्थिति सृजना भएपछी नागरिकता बनाउने निर्णय गरेको उनको भनाइ छ। उनी भन्छिन् , “गाडी/ रेलमा भारत जादा आउदा धेरै कष्ट भोगेको छु “।
संगितासँगै हालसम्म चितवन जिल्लामा तीन जनाले अन्यबाट नागरिकता लिएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (LGBTIQ+) सस्थाका अध्यक्ष देव श्रेष्ठका अनुसार चितवनमा पाँच हजार भन्दा बढि तेस्रोलिङ्गीहरु रहेको अनुमान छ। तीन सय ७५ जना मात्र खुलेर यो सस्थामा जोडिएका छन् । उनका अनुसार सस्थामा आवद्ध २ जनाले मात्र नागरिकता लिएका छन् ।जसमा १ जना अन्य र १ जना महिला बाट नागरिकता बनाएका छन्। भने एक जनाको प्रक्रिया अघि बढेको श्रेष्ठले बताए ।
आफूहरु महिला, पुरुष नभई तेस्रोलिङ्गी भएको सिफारिस ल्याएमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सकिने छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पछिल्लो नागरिकता ऐनअनुसार प्रकिया पुर्याएर आउने जुनसुकै लिङ्गको नागरिक भएपनि नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ।