बाँके। महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पँैचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अर्ग्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर चाखपूर्वक अर्ग्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले खरिद पनि गर्छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अर्ग्यानिक खाद्यवस्तुमा देखिएको छ । अन्य स्टलले भन्दा अर्ग्यानिक खाद्यान्नका प्रदर्शनी कक्षले अवलोकनकर्ता आकर्षित गरेको आयोजकको बुझाइ छ । अर्ग्यानिक कोसेली फुड इन्डष्ट्रिज प्रालिका सञ्चालक इन्दिरा शाहीले महोत्सवमा अर्ग्यानिक खाद्यान्नमा अवलोकनकर्ताको आकर्षण रहेको बताउनुहुन्छ । “मेरो प्रदर्शनी कक्षमा सबैभन्दा बढी बिक्री हुनेमा सातु छ, विभिन्न खाद्यान्न मिसाएर बनाएकाले होला धेरैले मन पराउनुभएको छ”, उहाँले भन्नुभयो ।
शाहीको प्रदर्शनी कक्षमा हिमाली र पहाडी क्षेत्रमा उत्पादित लसुन, खुर्सानी, टिमुरको छोपका साथै सेलरोटी, जुम्लाको अर्सा बिक्री भइरहेको छ । उहाँले दैनिक औसत रु १० हजारको बिक्री भइरहेको सुनाउनुभयो । त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बमले पनि स्थानीय उत्पादनमा अवलोकनकर्ताको चाख राम्रो देखिएको बताउनुभयो । “मेरो प्रदर्शनी कक्षमामा फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नो बिक्रीमा छन्”, उहाँले भन्नुभयो, “नेपालगञ्जवासीले पनि सिस्नो, कोदो र फापर यति धेरै मन पराउनुहुन्छ भन्ने सोचेकै थिइन्, महोत्सवमा राम्रो व्यापार भइरहेको छ ।” मीठो छ फुड प्रालिका सविता शाहको अनुभव पनि त्यस्तै छ । उहाँले महोत्सवमा फिनी र सेलरोटी, खुर्मालगायतका परिकार बिक्री गरिरहनुभएको छ ।
“हेर्दा राम्रो र खाँदा स्वादिला भएकाले होला, बिक्री राम्रो भइरहेको छ, दैनिक औसत रु चार हजारको आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । महोत्सवमा हुम्लाको चङ्खेलीको घट्टेखोला मौरीपालन व्यवसायी फर्मका हरिलाल बुढाले भिरमौरीको महसँगै हुम्लामा उत्पादित अर्ग्यानिक सिमी, कोदो, चिनो, हाडे ओखर बिक्रीमा राख्नुभएको छ । “बजारभरि डुलेर बिक्री गर्दै अर्ग्यानिक होभन्दा धेरैले पत्याउँदैनथे, महोत्सवमा भने धेरैले भिरमौरीको मह मनपराउनुभएको छ”, उहाँले भन्नुभयो । बुढाले एक किलो भिरमौरीको मह रु एक हजार आठ सयमा बिक्री गरिरहनुभएको छ । उहाँले महोत्सवमा मात्रै अहिलेसम्म २२ केजी मह बिक्री भइसकेको बताउनुभयो । बर्दियाको मधुवन–८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग महोत्सवमा राम्रो रहेको सुनाउनुभयो ।
उहाँको प्रदर्शनी कक्षमा चिप्ससँगै दालमोठ, कुरकुरे, चना, केराउ बिक्रीमा राखिएको छ । रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको प्रदर्शनी कक्षमा पनि जुम्ला, कालीकोट र बर्दियामा उत्पादित अर्ग्यानिक खाद्यवस्तु राखिएको छ । जसमध्ये अधिकांशको रोजाइमा कोदो र फापरको पिठोमा रहेको उहाँले सुनाउनुभयो । नेपालगञ्ज–२ बागेश्वरी टोलको ‘आन्टीको अचार’ प्रदर्शनी कक्षमा बयर अचार, अकबरे खुर्सानी, आँप, लप्सीको अचार, टिमुर, सिद्रा, चिकन र बफका अचारमा पनि अवलोकनकर्ताको भीड छ ।
महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा अर्ग्यानिक खाद्यवस्तुको बिक्री राम्रो भइरहेको छ । सङ्घका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका प्रदर्शनी कक्ष बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्यवस्तुका तीन सयभन्दा प्रदर्शनी कक्ष छन् ।