चितवन । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगद सहित सम्मान गरेको छ । मंगलबार परेको सहिद दिवसको अवसर पारेर इच्छाकामना २ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्र रहेका सहिदका परिवारहरुलाई नगद सहित सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सहिद सम्मान कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सहिदहरुको योगदान प्रति स्मरण गर्नुभयो । उहाँले सहिदहरुको योगदानकै कारण देश परिवर्तन भै आजको अवस्थासम्म आउन सम्भव भएको बताउदै सहिदको योगदान भुल्न नहुने बताउनुभयो । साथै उहाँले सहिदको परिवारको उचित शिक्षा दिक्षा र पालनपोषणको लागि प्रदेश सरकार सधै लागिपर्ने बताउनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकाले राज्यले घोषणा गरेको पालिका भित्रका सहिदहरुको सूचि तयार पारेर पहिलो पटक गाउँपालिकाले सहिदका परिवारहरुलाई सम्मान गरेको बताउनुभयो । गाउँपालिकाले प्रति परिवार नगद ५ हजार सहित सम्मान गर्न सुरुवात गरिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा सहिद परिवारको सम्मान गर्दै उनीहरुको आवश्यकतालाई सम्बोधन गरिने बताउनुभयो ।
गाउँपालिकाले २०३४ सालको चर्चित जुगेडी काण्डका सहिद वडा नं. २ का दशरथ चेपाङ, सन्त बहादुर चेपाङ, चन्द्र बहादुर चेपाङका साथै जनयुद्धका सहित वडा नं. २ का जीवन बुढाथोकी र वडा नं. ३ का चन्द्र बहादुर गुरुङ (दिपेश) को परिवारलाई सम्मान गरिएको हो ।