चितवन । प्याराडाईज युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनलमा आबुँखैरेनी गाउँपालिकालाई हराउँदै प्याराडाईज उपाधि नजिक पुगेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा प्याराडाईज १-० ले विजयी भएको हो । उसको जितमा गिल्सन लिम्बुले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको २० औं मिनेटमा गिल्सनले प्याराडाईजका लागि निर्णायक गोल गरे । उनी नै प्लेयर अफ दि म्याच चुनिए । प्याराडाईजले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार बागमती युथ क्लब सर्लाही र सरस्वति क्लब काठमाडौं भिड्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको फाइनल १९ गते शनिबार हुनेछ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ ।