चितवन। दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने भएको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुरका एक सय ९८ विद्यालयका एक–एक शिक्षकलाई यो तालिम दिइएको छ । बाँकी छ पालिकामा क्रमशः तालिम दिइनेछ । तालिमपश्चात् शिक्षकहरुलाई आफ्नो विद्यालयमा तालिम दिन आवश्यक अडियो, भिडियो, फोटोलगायत तालिम सामग्रीसमेत उपलब्ध गराइएको शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिनेछन् ।” यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरुले अभिभावकलाई समेत यो शिक्षा दिनेछन् ।
जिल्लामा पाँच सय आठ विद्यालय छन् । सानाबाहेकका विद्यार्थी मात्रै पनि एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने उहाँ बताउनुहुन्छ । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान थालेको शर्माको भनाइ छ ।