दाङ। घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुनुहुन्छ । उहाँको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उहाँले बताउनुभयो ।
घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उहाँ उत्साहित हुनुभएको छ । पालिकाले उहाँलाई १७ वटा कुखुराका चल्ला दिएको छ । उहाँले भन्नुभयो, “यिनै कुखुरालाई राम्रोसँग पालन गरे भने आम्दानी बढ्नेमा ढुक्क छु ।” घोराही–४ लक्ष्मीपुरकी प्यारी चौधरी एकल महिला हुनुहुन्छ । उहाँको श्रीमान्को निधन भएको सात वर्ष भयो । पाँच जनाको परिवार छ । आर्थिक अवस्था कमजोर छ ।
पालिकाले १७ वटा कुखुरा निःशुल्क दियो अब आर्थिक पक्ष सुधार हुने उहाँको आशा छ । पालिकाले जारी गरेको सूचनाका आधारमा निवेदन दिएका हाँै । पालिकाले एकल र असक्त महिलालाई प्रोत्साहनस्वरुप राम्रो कार्यक्रम ल्याएको रहेछ, धेरै खुसी लागेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यवसाय प्रबन्धन शाखा प्रमुख श्रीधर अधिकारीका अनुसार, एकल तथा असक्त एक सय महिलालाई कुखुराका चल्ला विरतण गरिएको छ ।
पालिकाका १९ वटै वडाका नागरिलाई सूचना पुर्याएको र उहाँहरूले माग गरेका आधारमा अण्डा र मासु उत्पादनका लागि कुखुराका चल्ला वितरण गरिएको हो । ‘न्यु हेम्पसाएर’ र ‘अष्ट्रोलोप’ जातका छ हप्ताका कुखुरा वितरण गरिएको छ । एघार जना असक्त र ८९ जना एकल गरी एक सय जनालाई रु चार लाख मूल्य बराबरका कुखुरा विरतण गरिएको अधिकारीले बताउनुभयो ।
पालिकाले सूचना निकाल्यो एकल र असक्त त्यसमा पनि आर्थिक रूपमा विपन्न महिलाले परिचयपत्रका आधारमा निवेदन दिनुभयो । पालिकाको छनोट समितिले छनोट गरेकालाई मात्र वितरण गरिएको हो । पालिकाभित्रका असक्त र एकल महिलाको आर्थिक अवस्था राम्रो होस् भनेर सहयोग गरेको उहाँले बताउनुभयो ।