काठमाण्डाै । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३२ बस्नै ३९ वर्षका शारदा कार्की र गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–८ बस्ने ३० वर्षका रविन श्रेष्ठ रहेका छन् ।
शारदाले क्यानडा पठाइदिने भन्दै ५ जनाबाट ६ लाख ८५ हजार ५ सय र रविनले जापान पठाइदिने भन्दै १ जनाबाट २० लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।