काठमाडौँ। सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिनुभएको हो ।
सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुल/सापुख्री (सर्प वर्ष) पर्वका अवसरमा टुँडिखेलमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त महोत्सव सम्पन्न गर्न एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसवर्ष ‘मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन्ने मूल नारासहित महोत्सव मनाइँदैछ । अध्यक्ष गोलेले भन्नुभयो, “सोनाम ल्होछार–२८६१ डुल ल्हो (सर्प वर्ष) भएकाले हाम्रो कार्यक्रमस्थलको मुख्य स्टेजलाई पूरै सर्पको मुखाकृति आकारमा बनाइने भएको छ ।”
महोत्सवमा परम्परागत सामग्रीसहितको स्टल रहनेछ भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजातिसम्बन्धी पुस्तक राखिने आयोजकले जनाएको छ । यो पर्व तामाङ, ह्योल्मोलगायत आदिवासी जनजाति समुदायले मनाउँदै आएका छन् । ल्होको अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो ।