ताप्लेजुङ। ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् ।
बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उहाँ अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहनुहुन्छ । त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँसँगै रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय हुुनुहुन्छ । फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उहाँहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् ।
गत वर्षदेखि सुरु भएको अभियानले उहाँहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उहाँहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन् । घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । “महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ”, श्रेष्ठले भन्नुभयो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले रु २४ लाख लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले रु दुई लाख, वडा कार्यालयले रु एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले रु दुई लाख सहयोग गरेका छन् । तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पु¥याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ ।
फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ । लिम्बूले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ ।” घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन् । श्रेष्ठले भन्नुभयो, “स्थानीय सरकारले उत्पादन प्रवद्र्धन गर्नसक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ”, स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ । यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उहाँहरूको स्थानसमेत बलियो बनाएको छ । फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन् ।
गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उहाँहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताउनुभयो । अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठूलो बजार पाउन सक्छ ।” महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।