चितवन । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।
प्रदेशिक रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । सो अबसरमा मेयर रेग्मीले रक्तदान मानवीय सेवाको उच्चतम कार्यभएको भन्दै सामाजिक कामका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए ।
संघका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम घिमिरेले निर्माण व्यवसायीले भवन मात्र निर्माण नगरी सामाजिक काममा समेत अग्रसर रहेको बताए । व्यवसायी र मजदुरको अधिकारीका क्षेत्रमा काम गर्न स्थापना भएको संघले सामाजिक काममा समेत योगदान गर्दै आएको उनको भनाई छ ।
संघका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, वडासदस्य लक्ष्मीनारायण चौलागाईँ, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता वाग्ले, सुरक्षित साकोसका अध्यक्ष लालुप्रसाद दाहाल, संघका निर्वतमान अध्यक्ष हेमप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कार्यालय सचिव जनजीवन शर्माले सञ्चालन गरेका थिए ।